ई-मधेश न्युज
‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ ः सांसद भगवती चौधरी
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ३१ असार ।
नेकपा एमालेकी सांसद तथा पूर्वमन्त्री भगवती चौधरीले भिजिट भिसालाई रोक्नुको सट्टा पारदर्शी र व्यवस्थित बनाउनुपर्ने सुझाव दिनुभएको छ।
संसदमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले यूएईलगायत खाडी मुलुकहरूमा भिजिट भिसामा जाने नेपालीहरू ठगिएको उल्लेख गर्दै दलाललाई लाखौं बुझाउनु पर्ने, तोकिएको काम नपाउने, शोषण र कानुनी झमेलामा फस्ने समस्या गम्भीर बन्दै गएको बताउनुभयो।
एक साताअघि दुबईमा आयोजित महिला सांसद तथा चेन्जमेकर्स कन्कलेभमा सहभागी हुँदा त्यहाँ रहेका नेपालीहरूबाट प्रत्यक्ष पीडा सुनेको अनुभव साझा गर्दै, उहाँले समस्यामा परेका नेपालीहरूको उद्धारमा सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
सांसद चौधरीले घरेलु कामदारका रूपमा न्२न् (सरकार–सरकार) प्रणालीमार्फत नेपाली महिलालाई पठाउनुपर्ने धारणा राख्दै ‘सर्भेन्ट’जस्ता शब्दको सट्टा ‘केयरगिभर’ वा ‘हाउसकीपर’ भन्नुपर्ने सुझाव दिनुभयो।
त्यस्तै, विदेशमा रहेका अविवाहित नेपाली महिला–पुरुषबाट जन्मेका बच्चाहरूको नागरिकता र उद्धारसम्बन्धी समस्या समाधानका लागि मानवीय तथा कानुनी सहायता उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो।