emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्वारा पर्सा अनुगमन

source e-Madhesh २०८२ असार ३१ गते , मंगलबार
0
Shares
14
Views
खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्वारा पर्सा अनुगमन


लिलाकान्त यादव,
वीरगञ्ज, ३१ असार ।
 जलवायु परिवर्तनका कारण तराई–मधेस क्षेत्र विशेष गरी वीरगञ्जमा गहिरिँदो खानेपानी समस्याको समाधानका लागि संघीय सरकारका दुई मन्त्रीले संयुक्त रूपमा अनुगमन गरेका छन्। खानेपानी मन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका विभिन्न बस्ती, टोल र वडाहरूमा अनुगमन र निरीक्षण गरेका हुन्।
खानेपानी आपूर्तिमा बढ्दो समस्या र जनताले भोग्नुपरेको कठिनाइबारे प्रत्यक्ष जानकारी लिन गरिएको यो अनुगमन कार्यक्रममा मन्त्री यादवले वीरगञ्जमा खानेपानीको दीर्घकालीन समाधानका लागि एशियाली विकास बैंक (ब्म्द्य) को ऋण सहयोगमा रु ४ अर्ब ५० करोड बजेट छुट्याइएको जानकारी दिए।
“तत्काल समस्या समाधानका लागि विभिन्न स्थानहरूमा डिप बोरिङ जडान गरी खानेपानी वितरणको काम थालिएको छ,” मन्त्री यादवले भने, “सरकार अहोरात्र खटिएको छ, जनताले चाँडै सुधारको अनुभूति गर्नेछन्।”
उनले खानेपानी संस्थान र सरोकारवाला निकायहरूबीच सहकार्यलाई अझ प्रभावकारी बनाउँदै समस्या समाधानका लागि आवश्यक कदम चालिने बताए। साथै, जनताको सक्रिय सहभागिता र सहकार्यको अपेक्षा पनि व्यक्त गरे।
सोही क्रममा कानुनमन्त्री चौरसियाले वीरगञ्ज र पर्सा जिल्लामा नागरिकले पानीका लागि चरम समस्या झेलिरहेका प्रति चिन्ता व्यक्त गर्दै भने, “हामी समस्या पहिचान गरेर तत्काल र दीर्घकालीन समाधानका उपायहरूमा जुटेका छौं। जनताले विश्वस्त रहन सक्ने आधार तयार गर्छौं।”
मन्त्रीद्वयको यो संयुक्त निरीक्षणले खानेपानी समस्या सम्बोधनका लागि सरकारको सक्रियता जनतामाझ देखिएको छ भने पर्सा जिल्लावासीले यसलाई राहतको संकेतका रूपमा लिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार