ई-मधेश न्युज
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्तीका अवसरमा उपराष्ट्रपतिबाट शुभकामना
लिलाकान्त यादव,
काठमाडौं, २९ असार ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।
उपराष्ट्रपति यादवले साहित्य, भाषा र संस्कृति प्रतिको भानुभक्तको योगदान आज पनि प्रेरणादायी रहेको उल्लेख गर्दै उहाँको आदर्शबाट प्रेरित भई राष्ट्र निर्माणमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो। वाल्मीकि रामायणको नेपाली अनुवादमार्फत नेपाली भाषालाई जनमानसमा स्थापित गराउने योगदानको स्मरण गर्दै उहाँले भानुभक्तका काव्यले नैतिकता, धर्म र सामाजिक चेतनाको मार्ग प्रशस्त गरेको बताउनुभयो।
‘घाँसी’, ‘प्रश्नोत्तर मालिका’ लगायत भानुभक्तका रचनाहरूले मानवता, परिश्रम र सामाजिक उत्तरदायित्वको सन्देश दिएको भन्दै उपराष्ट्रपतिले शैक्षिक संस्था, साहित्यिक संघ तथा सम्पूर्ण नेपाली समुदायलाई ती रचनालाई जीवन्त राख्न सक्रिय हुन आह्वान गर्नुभयो।
उहाँले तनहुँको चुँदीरम्घास्थित भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न सबैलाई एकजुट हुन पनि आग्रह गर्नुभएको छ।