ई-मधेश न्युज
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच आईटी प्रवद्र्धनका लागि रणनीतिक समझदारी
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २५ असार ।
नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवद्र्धन तथा डिजिटल अर्थतन्त्र सुदृढ गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को आईटी समितिबीच रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे र एनसीसी अध्यक्ष कमलेश कुमार अग्रवालको उपस्थितिमा भएको कार्यक्रममा दुबै संस्थाले संयुक्त रूपमा आईटी क्षेत्र विकास गर्न दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। समझदारीपत्रमा क्यान महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी र एनसीसी आईटी समितिका अध्यक्ष विज्ञान श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
समझदारी अन्तर्गत नीति वकालत, लगानी प्रवद्र्धन, नेटवर्किङ, आपसी ब्रान्डिङ र सदस्यता प्रवद्र्धनजस्ता क्षेत्रमा संयुक्त पहल गरिनेछ। हरेक छ महिनामा उद्योगभेटघाट, प्राविधिक कार्यक्रम र फोरम आयोजना गरिनेछ भने त्रैमासिक प्रगति समीक्षा बैठक हुनेछ।
तीन वर्षका लागि लागू हुने उक्त सहकार्यले नेपाललाई आईसीटी क्षेत्रको प्रतिस्पर्धी केन्द्रको रूपमा उभ्याउने अपेक्षा गरिएको छ। यो कदमले नेपालको आईटी इकोसिस्टम सुदृढ गर्दै दिगो डिजिटल अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने विश्वास गरिएको छ।