ई-मधेश न्युज
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूत कोर्टेभलबीच शिष्टाचार भेट
लिलाकान्त यादव,
राजविराज, २५ असार ।
नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलबीच बुधबार उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटका अवसरमा दुबै पक्षबीच नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयाम तथा भावी सहकार्यको सम्भावनाबारे कुराकानी भएको थियो।
उपराष्ट्रपति यादवले सन् १९४९ मा स्थापन भएको नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध सुमधुर र परस्पर सम्मानमा आधारित रहेको उल्लेख गर्दै फ्रान्सका मूल्य–स्वतन्त्रता, समानता र भ्रातृत्वप्रति सम्मान व्यक्त गर्नुभयो।
नेपालको पूर्वाधार विकासमा फ्रान्स र युरोपेली संघको सहयोगप्रति आभार प्रकट गर्दै उहाँले भविष्यमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
राजदूत कोर्टेभलले नेपाल–फ्रान्स सम्बन्ध आपसी मित्रता, साझा मूल्य र धारणामा आधारित रहेको बताउँदै आफ्नो कार्यकालमा सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपराष्ट्रपति यादवले फ्रान्सको आगामी राष्ट्रिय दिवसको अवसरमा फ्रान्सेली राष्ट्रपति र जनतालाई शुभकामना समेत व्यक्त गर्नुभयो।