ई-मधेश न्युज
सप्तरीमा नवप्रहरी प्रमुख केसीको पत्रकारसँग परिचयात्मक कार्यक्रम सम्पन्न
भुपदेव माली,
राजविराज, २४ असार ।
सप्तरी जिल्लामा हालै नियुक्त भएका प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले पत्रकारहरूसँग परिचयात्मक तथा परीक्षात्मक कार्यक्रम सम्पन्न गरेका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित कार्यक्रममा प्रमुख केसीले आफ्नो कार्यकालमा समान सेवा प्रवाहलाई प्राथमिकता दिइने स्पष्ट पारे।
पत्रकारहरूसँगको संवादमा उनले प्रहरी कार्यालयमा पहुँच र चिनजानका आधारमा मुद्दा दर्ता हुने गुनासालाई खारेज गर्दै भने, “प्रहरीले मुख हेरेर मुद्दा दर्ता गर्ने कुरा हुँदैन। मेरो कार्यकालमा कसैलाई भेदभाव नगरिनेछ।” उनले शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण गर्ने र जनताको विश्वास जित्ने गरी प्रहरी सेवालाई प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
एसपी केसीले पत्रकारिता लोकतन्त्रको चौथो अंग भएको भन्दै पत्रकारसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे। “गैरकानुनी कार्य नियन्त्रण तथा सभ्य समाज निर्माणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुन्छ,” उनले भने। उनले पत्रकारलाई सूचना, सम्मान र सुरक्षाको प्रत्याभूति दिने पनि स्पष्ट पारे।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले विगतमा प्रहरी र पत्रकारबीचको सम्बन्धमा उत्पन्न असमझदारीका घटनाहरू स्मरण गराउँदै सहकार्यको संस्कृति कायम रहनुपर्ने बताए। उनले पत्रकार आचारसंहिता विपरीत कार्य गर्ने युट्युबरहरूको नियमनमा प्रहरीले कडाइ गर्नुपर्ने सुझाव दिए।
पूर्व एसपी ढकेन्द्र खतिवडाले पत्रकारमैत्री व्यवहार प्रस्तुत गरेको भन्दै वर्तमान एसपीले पनि त्यसलाई निरन्तरता दिनुपर्ने देवको भनाइ थियो। उनले युट्युबरहरूद्वारा पूर्व एसपीलाई तथ्यहीन रूपमा बदनाम गरिनु दुःखद रहेको बताए।
कार्यक्रमले प्रहरी र सञ्चारकर्मीबीच विश्वास र पारदर्शिता कायम गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ। एसपी केसीले निष्पक्ष सेवा, जनहितमा केन्द्रित कार्य र कानूनको शासन स्थापनामा आफू प्रतिबद्ध रहेको बताएका छन्।