ई-मधेश न्युज
एभरेष्ट इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ नेतृत्वबारे विशेष छलफल सम्पन्न
ईमधेश न्यूज सम्वाददाता
काठमाडौँ, १७ असार ।
एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपामा आज आयोजना गरिएको इन्जिनियरिङ नेतृत्व विषयक विशेष छलफल कार्यक्रममा स्रोत व्यक्ति इन्जिनियर डा. दिपक प्रसाद बास्तोलाले देश विकासमा इन्जिनियरको सक्रिय नेतृत्व अपरिहार्य भएको बताएका छन्।
तीन दशकभन्दा बढी समय नेपाली सेनामा कार्य गरेको, ५००० घण्टा हेलिकप्टर उडाएको, आठपटकको प्रयासपछि फ्रान्सको पेरिसमा उच्च अध्ययनका लागि छात्रवृत्ति पाएको, काठमाडौ विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. बास्तोलाले सिभिल इन्जिनियरिङ अन्तिम सेमेष्टरका ५० विद्यार्थीहरूसँग अनुभव साझा गरे।
उहाँले नेपाल अझै अन्तर्राष्ट्रिय उडान सुरक्षाको ’ब्ल्याक लिष्ट’मा रहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपाललाई उक्त सूचीबाट हटाउन इन्जिनियरहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गरे। उहाँले जीवन उपयोगी ज्ञानमा पढाइले १०%, सोच र चिन्तनले १०% र अनुभवले ८०% योगदान गर्ने भन्दै विद्यार्थीहरूलाई अनुभवी व्यक्तिको मार्गदर्शन लिन सुझाव दिनुभयो।
डा. बास्तोलाले बेलायतका तत्कालीन राजकुमार ह्यारीको नेपाल भ्रमणका बेला उहाँले चढ्ने हेलिकप्टर उडाउने जिम्मेवारी पाएको अनुभव सुनाउँदै सफल नेतृत्वका लागि मन, वचन र कर्ममा तादात्म्यता आवश्यक रहेको बताए।
कार्यक्रमपछि विद्यार्थीहरूका प्रश्नको उत्तर दिँदै उहाँले सिप अद्यावधिक गर्न, श्रमको कदर गर्न र पेशाको गरिमा जोगाउन विद्यार्थीहरूलाई प्रेरित गरे।
कार्यक्रमको अन्त्यमा कलेजका सिभिल विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओली र प्राचार्य इन्जिनियर प्रा.डा. हरिकृष्ण श्रेष्ठले डा. बास्तोलालाई मायाको चिनो प्रदान गरेका थिए।