ई-मधेश न्युज
युवाहरू उद्यमशीलता र सीप विकासमार्फत् राष्ट्र निर्माणको अग्रपंक्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव
लिलाकान्त यादव,
काठमाडौं, १६ असार ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले युवाहरूलाई उद्यमशीलता, सीप विकास र रोजगारी मार्फत् राष्ट्र निर्माणको अग्रपंक्तिमा उभिन आह्वान गर्नुभएको छ।
सोमबार काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता प्रवर्धन सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले युवाको साहस, सृजनशीलता र सम्भावनालाई नेपालको उज्ज्वल भविष्यको आधारका रूपमा चित्रण गर्नुभयो। “नेपालको कुल जनसंख्याको ठूलो हिस्सा युवाशक्ति हो। यिनीहरू मात्र वर्तमान होइनन्, भविष्यको सुनिश्चितता पनि हुन्,” उपराष्ट्रपति यादवले भन्नुभयो।
‘युवाका लागि अबको निकासः उद्यमशीलता, रोजगारी र सीप विकास’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा उपराष्ट्रपति यादवले जलविद्युत, पर्यटन, कृषि, जडीबुटी, साना तथा घरेलु उद्योग र डिजिटल उद्यमजस्ता क्षेत्रमा युवालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय सम्मेलनहरूबाट केन्द्रसम्म ल्याएको पहल प्रशंसनीय रहेको बताउँदै, यस्तो प्रयासले स्टार्टअप प्रवद्र्धन, नीति निर्माणमा युवा सहभागिता र निजी क्षेत्रसँग सहकार्यमा टेवा पु¥याउने बताउनुभयो।
उपराष्ट्रपति यादवले भने, “हाम्रो चाहना छ– नेपाली युवा समस्या मात्र नहोस्, समाधान स्वयं बनोस्। त्यसका लागि सशक्त वातावरण, अनुकूल नीति, वित्तीय पहुँच र युवाप्रतिको विश्वास अपरिहार्य छ।”
उहाँले युवा व्यवसायीहरूलाई पूँजी, मार्गदर्शन र सीप प्रदान गर्न राज्य, निजी क्षेत्र, शैक्षिक संस्था, वित्तीय निकाय र नागरिक समाजले साझा जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो।
सम्मेलनको सफल आयोजनाका लागि राष्ट्रिय युवा परिषद्लाई बधाई दिँदै उपराष्ट्रपति यादवले युवाको ऊर्जा र सृजनशीलतालाई समृद्ध नेपालको आधार बनाउने शुभकामना व्यक्त गर्नुभयो।