ई-मधेश न्युज
संविधान संशोधन नदेखिएपछि समर्थन फिर्ताको निष्कर्षमा पुगेका छौंः पूर्ण बस्नेत
लिलाकान्त यादव,
काठमाडौं, १२ असार ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संविधान संशोधनको कुनै सम्भावना नदेखिएपछि पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निष्कर्षमा पुगेको बताएका छन्।
उनका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारबाट संविधान संशोधन हुने संकेत, आधार र तत्परता नदेखिएकोले समर्थनको औचित्य समाप्त भएको हो। बस्नेतले भने, “संविधान संशोधनका लागि गठबन्धन बनाउने, समर्थन लिने तर फेरि प्रतिबद्धता कागजमै सीमित राख्ने प्रवृत्तिले हामी निराश भयौं।”
२०८१ असार १७ मा कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधन गर्ने सहमतिसहित सरकार बनाउँदा जसपाले विमति हुँदाहुँदै पनि निसर्त समर्थन गरेको थियो। तर, संविधान संशोधनको कार्यान्वयन प्रक्रिया अघि नबढेकोले पार्टी पुनः समर्थन फिर्ताको निष्कर्षमा पुगेको बस्नेतले स्पष्ट पारे।
उनले थपे, “जसपा नेपाल सदन, सडक र सरकार—सबैतिर पुगेको छ तर आफ्नो प्रमुख एजेण्डा ‘संविधान संशोधन’ संबोधन नहुँदा समर्थन जारी राख्नुको औचित्य छैन।”