ई-मधेश न्युज
मधेश संस्कृति संरक्षणको दिशामा नयाँ पहलः संग्रहालय स्थापना तयारीमा
ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, ०६ असार ।
मधेश प्रदेश सरकारले क्षेत्रीय भाषा, भेषभूषा, कला र लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले मधेश संस्कृति संग्रहालय स्थापना गर्ने तयारी गरिरहेको छ।
धनुषाको पुरन्दाहमा आयोजित मधेश प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले मधेशको मौलिक सांस्कृतिक सम्पदा जोगाउन सरकार प्रतिबद्ध रहेको बताइन्।
“सबै जातजातिको भेषभूषा र कला संस्कृतिलाई सम्मान गर्ने संस्कार आवश्यक छ,” मन्त्री तिवारीले भनिन्, “सरकार संग्रहालय स्थापनामार्फत लोकभाषा, गीत, नृत्य, नाट्य र सांस्कृतिक विरासतको संरक्षणमा लागिपर्नेछ।”
कार्यक्रममा पूर्व योजना आयोग उपाध्यक्ष डा. भोगेन्द्र झाले मधेश प्रज्ञा प्रतिष्ठान सबै मधेशवासीका लागि साझा थलो भएको बताए। “संघीयताको उपजका रूपमा मधेशले यो प्रतिष्ठानमार्फत आफ्नो कला र साहित्य उजागर गर्न थालिएको छ,” उनले भने।
प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. सूर्यकुमार यादव, डा. विनोद यादव, अशोक दत्तलगायत वक्ताहरूले मधेशका सम्पूर्ण सांस्कृतिक पाटाहरूको अध्ययन, संरक्षण र विकासमा जोड दिए।
प्रतिष्ठानका प्रशासकीय प्रमुख अमोदकुमार यादवले संस्था साहित्य, गीत–संगीत, ललितकला, नाटक र अनुसन्धानसहित छ वटा विधामा क्रियाशील रहेको जानकारी दिए।