ई-मधेश न्युज
अलपत्र भारदह–पकरी सडक निर्माणको माग गर्दै प्रजिअलाई ज्ञापनपत्र
लिलाकान्त यादव,
राजविराज, ०४ असार ।
सप्तरीको पूर्वी भेगमा पर्ने मध्यमार्ग भारदह–अर्जी–डाढा (मिलन चौक)–पकरी सडकखण्डको निर्माण कार्य अलपत्र परेको भन्दै स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दहाललाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्य अघि बढाउन माग गरेका छन्।
जसपा नेपालका नेता तथा समाजसेवी विकास कुमार तिवारीको नेतृत्वमा स्थानीय तिलेश्वर मण्डल, मनोज कुमार यादव, रामदेव यादव, राजकिशोर साह, सूर्यनारायण साहलगायतले बुधबार जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन्।
स्थानीयले लामो समयदेखि अधुरो सडकका कारण सास्ती भोग्नु परेको, वर्षायाममा त सडक पूर्णरूपमा बन्द हुने अवस्था आउने गरेको गुनासो गरेका छन्। उनीहरूले बारम्बार अनुरोध गर्दा पनि निर्माण कम्पनीले बेवास्ता गर्दै आएको आरोप लगाए।
सडक निर्माणको ठेक्का “एम÷एस शाह÷दिवा जेभी, सातदोबाटो, ललितपुर” नामक कम्पनीले लिएको हो। सम्झौताअनुसार २०७९ सालमै काम सम्पन्न भइसक्नुपर्ने भए पनि हालसम्म काम नसकिँदा जनजीवन प्रभावित भएको जनाइएको छ।
ज्ञापनपत्रमा राजविराज–कञ्चनपुर हुलाकी सडकसँग जोडिने बलौनीस्थित खोलामा पुल निर्माण पनि अधुरो अवस्थामा रहेकाले सो मार्गमा समेत सवारी आवागमनमा गम्भीर असर परेको उल्लेख छ।
प्रजिअ भोला दहालले ज्ञापनपत्र स्वीकार गर्दै स्थानीयको माग उचित रहेको बताउँदै सडक निर्माण कार्य शीघ्र सुचारु गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
ज्ञापनपत्रमार्फत स्थानीयले अब पनि समस्या समाधान नभए शान्तिपूर्ण आन्दोलनबाट सशक्त सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्।