ई-मधेश न्युज
सडक दुर्घटनाविरुद्ध सचेतना फैलाउन राजविराजमा ट्राफिक नाटक मञ्चन
लिलाकान्त यादव,
राजविराज, ०२ असार ।
सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना र नागरिकमा सचेतना फैलाउने उद्देश्यसहित राजविराजमा जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ।
‘सभ्य समाजको सृजना, ट्राफिक नियमको पालना’ भन्ने मूल नारासहितको नाटक सोमबार रामलाल कमेडी ग्रुपद्वारा प्रस्तुत गरिएको हो। कार्यक्रम यातायात व्यवस्था कार्यालय सप्तरीको सहयोग, समाज परिवर्तन नेपालको आयोजनामा सम्पन्न भएको हो।
नाटकमा ट्राफिक नियमको उल्लङ्घन गर्दा निम्तिने दुर्घटना, कानुनी कारबाही र त्यसले पार्ने व्यक्तिगत र सामाजिक असरहरूलाई व्यङ्ग्यात्मक शैलीमा चित्रण गरिएको थियो। सडकमा हेलचक्र्याइँ, बिना हेलमेट मोटरसाइकल चलाउने, ओभर स्पिड र मोबाइल प्रयोग गर्दै सवारी साधन हाँक्ने दृश्यहरू मार्फत जनतालाई सावधानी अपनाउन र नियम पालना गर्न प्रेरित गरिएको थियो।
स्थानिय निकाय, ट्राफिक प्रहरी र नागरिकबीचको सहकार्यले मात्र सडक सुरक्षा सुनिश्चित गर्न सकिने सन्देश नाटकमार्फत दिइएको आयोजकले बताएका छन्।
कार्यक्रममा विद्यालयका विद्यार्थी, स्थानीय सर्वसाधारण, ट्राफिक प्रहरी र सामाजिक अभियन्ताहरूको उपस्थिति थियो। सहभागीहरूले नाटक निकै प्रभावकारी, सन्देशमूलक र मनोरञ्जनात्मक भएको प्रतिक्रिया दिएका छन्।
समाज परिवर्तन नेपालका प्रतिनिधिले आगामी दिनमा अझ बढी स्थानहरूमा यस्ता नाटक सञ्चालन गरी ट्राफिक नियम पालनामा नागरिक सहभागिता बढाउने योजना रहेको बताएका छन्।