ई-मधेश न्युज
सात बुँदे घोषणापत्रसहित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, ०१ असार ।
सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–११४५ भव्य रूपमा सम्पन्न भएको छ। बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट आएका करिब ५० विदेशी र १०० भन्दा बढी नेपाली पत्रकारको सहभागितामा सम्पन्न उक्त सम्मेलनले मातृभाषा पत्रकारिता प्रवद्र्धनका लागि सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ।
दुई दिनसम्म भक्तपुरको मध्यपुर थिमि बैंक्वेटमा चलेको सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए। उनले मातृभाषा पत्रकारिता नेपालको संवैधानिक बहुलता र भाषिक विविधता सम्बोधन गर्ने प्रमुख माध्यम भएको उल्लेख गर्दै, यसलाई व्यवहारमा उतार्न सरकारी तथा नीतिगत तहबाट थप पहल आवश्यक रहेको बताए।
सम्मेलनको दोस्रो दिन मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले बोल्दै विद्यालय तहदेखि नै मातृभाषा अध्यापनको पहलमा स्थानीय सरकार अग्रसर रहेको बताए। कार्यक्रम संयोजक तथा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सम्मेलन नेपालभाषा पत्रकारिता प्रारम्भकर्ता धर्मादित्य धर्माचार्यको १०१ औं स्मृतिमा आयोजना गरिएको जानकारी दिए।
सम्मेलनमा पुस्करभक्त माथेमाले सरकारी सञ्चार गृहमा मातृभाषाको प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गरे। विभिन्न प्यानल छलफलहरूमा मातृभाषा पत्रकारिताको अभ्यास, अवसर, चुनौती, बजार तथा संस्थागत भूमिकामा विस्तृत बहस गरियो।
कार्यक्रममा पाँचजना वरिष्ठ पत्रकारहरू मल्ल के सुन्दर, गणेश राई, अजितमान तामाङलगायतलाई ‘धर्मादित्य मातृभाषा पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो। यस्तै, संस्थागत योगदानका लागि रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन र प्रेस काउन्सिल नेपाललाई पनि सम्मान गरिएको थियो।
सात बुँदे घोषणापत्रमा के छन्?
सम्मेलनको अन्त्यमा जारी सात बुँदे घोषणापत्रमाः
मातृभाषा संरक्षणका लागि पत्रकारिताको भूमिका सशक्त बनाउने,
मातृभाषामा नियमित पत्रकारिता अभ्यास प्रवद्र्धन गर्ने,
सरकारी सञ्चार माध्यममा मातृभाषाको प्रयोग सुनिश्चित गर्ने,
धर्मादित्य धर्माचार्यको योगदान स्मरणीय बनाउँदै अनुसन्धानात्मक अभिलेख तयार गर्ने,
बहुल समाजको विकासमा मातृभाषा पत्रकारिताको महत्त्वपूर्ण स्थान सुनिश्चित गर्ने,
मातृभाषा पत्रकारिता विकासमा सरकारी नीतिगत सहयोग र बजेटको सुनिश्चितता गर्ने,
मातृभाषा पत्रकारिता बजार व्यवस्थापनमा नीति निर्माण गर्ने कुराहरू समावेश छन्।
सम्मेलनले मातृभाषा पत्रकारिता क्षेत्रको सशक्तिकरण, भाषा अधिकारको सुनिश्चितता र बहुभाषिक समाज निर्माणका पक्षमा सशक्त बहस र नीति सुझाव प्रस्तुत गरेको सहभागीहरूको भनाइ छ। फोनिज र सार्क जर्नलिष्ट फोरमको सहकार्यमा सम्पन्न सम्मेलनले मातृभाषा पत्रकारिता आन्दोलनलाई नयाँ मोड दिएको बताइएको छ।