ई-मधेश न्युज
मधेश सरकारको करिब ४६ अर्बको बजेट आज सार्वजनिक, भौतिक पूर्वाधारमै सबैभन्दा बढी बजेट
ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, ०१ असार ।
मधेश प्रदेश सरकारले आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि करिब ४६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दैछ। स्रोतका अनुसार यो वर्ष पनि सरकारको प्राथमिकता भौतिक पूर्वाधारमै केन्द्रित देखिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा धेरै १३ अर्ब ११ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। यसै विभागमा प्रदेश सभा सदस्यहरूले आफ्ना योजनाहरू राखेका कारण बजेट बढी पुगेको बताइएको छ। प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यलाई ५ करोड र समानुपातिकलाई ३ करोड रुपैयाँको योजना स्वीकृति दिइएको छ।
चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले सांसदहरूलाई ‘गोप्य ढंगबाट’ बजेट बाँडेको थियो।
अन्य प्रमुख मन्त्रालयहरूमध्ये स्वास्थ्य मन्त्रालयलाई ५.२१ अर्ब, शिक्षा तथा संस्कृति मन्त्रालयलाई २.९ अर्ब, कृषि मन्त्रालयलाई २.७९ अर्ब, वन मन्त्रालयलाई २.४२ अर्ब, उद्योग वाणिज्य पर्यटन मन्त्रालयलाई २.९८ अर्ब, खेलकुद तथा समाज कल्याण मन्त्रालयलाई १.९५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।