ई-मधेश न्युज
मानवता र समानताको सन्देश दिने सन्त कबीरको जयन्ती आज
भारतवर्षका महान् सन्त, कवि तथा समाजसुधारक सन्त कबीरदासको सम्झनामा आज कबीर जयन्ती मनाइँदैछ। जनविश्वास अनुसार, कबीरको जन्म ज्येष्ठ शुक्ल पूर्णिमाका दिन भएको मानिन्छ र यस दिनलाई उनको जयन्तीका रूपमा मनाइन्छ।
कबीरदासलाई जनमानसमा ‘कबीर साहेब’ वा ‘कबीर दास’ भनेर सम्मान गरिन्छ। यद्यपि उनको जन्मको ठोस विवरण उपलब्ध छैन, जनकथाअनुसार उनले काशीको लहरतारा पोखरीको कमलको फूलमा जन्म लिएका थिए र त्यसपछि निःसन्तान जुलाहा दम्पती नीमा र नीरूले उनलाई अंगालेका थिए।
कबीरदासले आफ्ना ८८दोहा ९छोटो, सारगर्भित काव्य०८८हरूमार्फत सामाजिक, धार्मिक र आध्यात्मिक चेतना फैलाउने कार्य गरेका थिए। उनले रूढिवाद, पाखण्ड, अन्धविश्वास र धर्मका नाममा भइरहेका अन्यायविरुद्ध आवाज उठाए। उनका दोहाहरूमा प्रेम, समानता, सहिष्णुता र मानवताको गहिरो सन्देश पाइन्छ। “धाइ अखर प्रेम का, पढ़े सो पंडित हो” जस्ता रचनाले उनको मानवतावादी दृष्टिकोण प्रस्ट पार्दछन्।
हिन्दु र मुस्लिम दुवै समुदायमा आदरका पात्र रहेका कबीरको मृत्युपछि पनि दुवै धर्मावलम्बीहरूले आफ्ना संस्कारअनुसार अन्त्येष्टि गर्न चाहेका थिए। तर शव खोल्दा फूल मात्र भेटिएको जनकथाले उनले दिएका धर्मनिरपेक्षताको सन्देश झल्काउँछ। त्यसपछि आधा फूल हिन्दुहरूले र आधा मुस्लिमहरूले लिएर अन्तिम संस्कार गरेका थिए।
कबीर जयन्ती आज पनि धर्मभन्दा माथि उठेर प्रेम, सत्य र मानवताको पक्षमा आवाज उठाउने प्रेरणाको रूपमा मनाइन्छ। उनका विचार आजको सामाजिक यथार्थमा पनि उत्तिकै सान्दर्भिक छन्।