ई-मधेश न्युज
राजविराज नगरपालिकाको विवाद तीन बुँदे सहमति पछि टुंगियो
ईमधेश न्यूज सम्वाददाता,
राजविराज, २८ जेष्ठ ।
राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर उत्पन्न विवाद तीन बुँदे सहमतिपछि अन्त्य भएको छ। जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकले राति अबेर सहमति गरेपछि नगरपालिकाको कार्यालयमा लगाइएको ताला खोलेको हो।
सहमति अनुसार, नगरपालिकामा भएको अनियमितता, उजुरी तथा रकम हिनामिनाको छानबिन गर्न विज्ञसहितको समिति गठन गरिनेछ। साथै, स्थायी दरबन्दीमा नियुक्त इन्जिनियरलाई तलब उपलब्ध गराउने र संघीय मन्त्रालयबाट तोकिएका प्रमुख प्रशासकीय अधिकृत हरि किसोर प्रसाद चन्द्रवंशीलाई तत्काल हाजिर गराउने सहमति भएको छ।
यसअघि, निलम्बित मेयर भीमराज यादव पक्षले कार्यालयमा ताला लगाएका थिए, जुन कार्यवाहक मेयर इसरत परविन नेतृत्वको टोलीले मंगलबार बिहान प्रहरीको सहयोगमा खोलेपछि झडप र तोडफोड भएको थियो।
झडपमा लेखा अधिकृत शत्रुधनलाल दास गम्भीर घाइते भएका छन् भने स्वास्थ्यकर्मी सन्तोष दासमाथि हातपात गरिएको छ। केही सर्वसाधारणको मोबाइलसमेत फुटाइएको थियो।
सहमतिको कार्यान्वयनसँगै राजविराज नगरपालिकामा कामकाज पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।