ई-मधेश न्युज
४१ वर्ष सेवा गरेका शिक्षक हरिनारायण यादवलाई राजविराजमा विदाई
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २७ जेष्ठ ।
राजविराज नगरपालिका–४ स्थित केन्द्र नम्बर ६ का शिक्षक हरिनारायण यादवलाई सेवा निवृत्त भएसँगै सोमबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। उमेर हद पुगेपछि विद्यालयले औपचारिक कार्यक्रम गरी उनलाई सम्मानसहित विदाई गरेको हो।
२०४१ साल फागुन १८ गते धनकुटाको कन्यादेवी माध्यमिक विद्यालय, खोकुबाट शिक्षण सेवा सुरु गरेका यादवले २४ वर्ष त्यहीँ कार्यरत रही २०६५ सालमा गृहजिल्ला सप्तरीको राजविराजमा सरुवा भएर आएका थिए। उनले कुल ४१ वर्ष शिक्षा क्षेत्रमा सक्रिय रहेर योगदान दिएका हुन्।
कार्यक्रममा वडा अध्यक्ष दिनेश साह, विद्यालयका प्रधानाध्यापक शंकर कुमार यादव, व्यवस्थापन समिति सदस्य, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले मायाको चिनो र सम्मानपत्र प्रदान गर्दै सफल भविष्यको शुभकामना दिएका थिए।
यादवले धनकुटा र सप्तरी दुवै स्थानमा शिक्षाको स्तर उकास्न इमानदारीका साथ सेवा दिएको बताए। उनले भने, “विद्यार्थीहरू आज विभिन्न ओहदामा पुगेको देख्दा गर्व लाग्छ।”
सेवा निवृत्त भएपनि शिक्षा र मानवसेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैप्रति आभार प्रकट गरेका छन्।