ई-मधेश न्युज
पानद्वारा महोत्तरी गाउँपालिकालाई उत्कृष्ट पालिका सम्मान
ईमधेश न्यूज सम्वाददाता,
महोत्तरी, २६ जेष्ठ ।
मधेश प्रदेशको महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै ८८प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)८८बाट उत्कृष्ट पालिका पुरस्कार प्राप्त गरेको छ।
गाउँपालिका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा क्षेत्रमा प्रभावशाली नेतृत्व, पहल र योगदानका आधारमा पानले सम्मान गरेको हो। उक्त पुरस्कार पानको दोस्रो राष्ट्रिय सम्मेलनमा शुक्रबार पोखरामा प्रदान गरिएको थियो। मूल्याङ्कन समितिको अध्यक्ष प्रा.डा. विद्यानाथ कोइराला रहेका थिए।
पानले प्रत्येक वर्ष देशभरका पालिकाहरूको २५ वटा शैक्षिक मापदण्डको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट पालिका चयन गर्दै आएको छ।
महोत्तरी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषक सुविधा तथा पशु सेवा केन्द्र स्थापना लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको छ। साथै, विभिन्न चेतनामूलक कार्यक्रममार्फत जनस्तरमा सकारात्मक प्रभाव पारेको छ।
सांसद गोमा लाभको पहलमा आगामी वर्ष महोत्तरी–सनुखरा, महोत्तरी–परकौलीचोक र गोरीगम्मा–रातोपुल सडक योजनाहरू ९ करोड रुपैयाँ बजेटसहित निर्माण हुनेछन्, जसमा पक्की नाला पनि समावेश गरिएको छ।