ई-मधेश न्युज
उपेन्द्र यादवद्वारा जसपा बर्दिया अधिवेशन उद्घाटन
ईमधेश न्यूज सम्वाददाता,
बर्दिया, २२ जेष्ठ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बर्दियामा पार्टीको जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशन उद्घाटन गरेका छन्। गुलरियामा बिहीबार आयोजित उद्घाटन सत्रमा मधेश आन्दोलनका ज्ञात–अज्ञात शहीदलाई सम्झेर पानसमा बत्ति बाल्दै कार्यक्रम सुरु गरिएको हो।
अध्यक्ष यादवको नेतृत्वमा जसपा केन्द्रीय टोली नेपालगञ्जबाट गुलरिया पुगेर अधिवेशन सत्रलाई सम्बोधन गरेको हो। लुम्बिनी प्रदेशमा संगठन विस्तारलाई प्राथमिकतामा राख्दै आएको जसपाले पछिल्लो समय पश्चिम नेपालमा पनि पकड बलियो बनाउँदै आएको जनाएको छ।
कार्यक्रममा अध्यक्ष यादवसँगै केन्द्रीय महासचिव तथा लुम्बिनी इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी, केन्द्रीय सचिव कमरुद्दीन राईन, प्रदेश सभा सदस्य अम्बिका काफ्ले लगायत नेताहरू सहभागी थिए।
पार्टी नेतृत्वले शुक्रबार कपिलबस्तु जिल्लाको अधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ। यसअघि अध्यक्ष यादवले बाँके जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए। अधिवेशनमार्फत जसपाले लुम्बिनीमा संगठन सशक्त बनाउँदै केन्द्रसम्म प्रभाव विस्तार गर्ने रणनीति लिएको छ।