ई-मधेश न्युज
नेपाली श्रमिकको सुरक्षाबारे उपेन्द्र यादव र राजदूत तिमल्सेनाबीच मलेसियामा छलफल
लिलाकान्त यादव, काठमाडौँ, १९ जेष्ठ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबीच मलेसियामा कार्यरत नेपाली श्रमिकको समस्या समाधानबारे विशेष छलफल भएको छ। राजदूत तिमल्सेनाले अध्यक्ष यादवको सम्मानमा आइतबार राति आयोजना गरेको स्वागत समारोहमा श्रमिकको सुरक्षा, अधिकार र समस्याको विविध आयामबारे विचार–विमर्श गरिएको हो। छलफलमा अध्यक्ष यादवले मलेसियामा रहेका नेपाली श्रमिकहरू कामका क्रममा भोग्नुपरेका कठिनाइ, दुव्र्यवहार र श्रम शोषणप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको जिउधनको सुरक्षाका लागि नेपाली दूतावासले प्रभावकारी पहल गर्नुपर्ने माग राखे। राजदूत तिमल्सेनाले नेपाली श्रमिकका हकहितमा दूतावास निरन्तर क्रियाशील रहेको र भविष्यमा अझ प्रभावकारी रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा जसपा नेता अर्जुन थापा, प्रदेश सांसद राजकुमार गुप्ता, विश्लेषक डा. निश्चलनाथ पाण्डे, तथा मलेसियामा क्रियाशील नेपाली समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।