ई-मधेश न्युज
प्रेस स्वतन्त्रतामाथि प्रेस काउन्सिलको हस्तक्षेपप्रति महासंघ ललितपुर शाखाको आपत्ति
लिलाकान्त यादव,
काठमाडौँ, १८ जेष्ठ ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रेस काउन्सिल नेपालबाट सञ्चार माध्यममाथि गरिएको समाचार प्रतिबन्धसम्बन्धी पत्राचारप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले यस कदमलाई प्रेस स्वतन्त्रता र संविधानको मूल मर्मविपरीत भएको भन्दै कडा आलोचना गरेको छ।
दियोपोस्ट डटकममा तीन वर्षअघि प्रकाशित एक समाचार स्थगन नगरे यसलाई दूरसञ्चार प्राधिकरणमार्फत देशभर नदेखिने बनाउने चेतावनीपूर्ण पत्राचार गरिएको भन्दै महासंघ ललितपुर शाखाले घटनालाई संविधानको धारा १९ मा सुनिश्चित गरिएको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको उल्लङ्घन भनेको छ।
दियोपोस्ट डटकमका सम्पादक रीता बुढाथोकी र सञ्चालक सुदीप विकलाई लक्षित गरी प्रेस काउन्सिलले गरेको हस्तक्षेपप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको हो।
महासंघले प्रेस काउन्सिलको यस कदम न केवल असंवैधानिक रहेको, तर प्रेस आचारसंहिताको समेत उल्लंघन भएको भन्दै सरकारले छानबिन गरि दोषीमाथि कारबाही गर्न माग गरेको छ।
“प्रेस काउन्सिल जस्तो गरिमामय संस्थाबाट सञ्चार माध्यमको घाँटी निमोठ्ने खालका गतिविधि हुनु निन्दनीय मात्र होइन, प्रेस स्वतन्त्रता माथिको प्रहार हो,” महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।
नेपालको संविधान, २०७२ को प्रस्तावनाले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरे पनि काउन्सिलको यस्तो हस्तक्षेप लोकतान्त्रिक मान्यता र संचार स्वतन्त्रतामाथि नै प्रश्न उठाउने प्रयास भएको महासंघको भनाइ छ।