ई-मधेश न्युज
सेवा निवृत्त कर्मचारी आक्रोशितः “हाम्रो योगदान बेवास्ता गरियो”
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १७ जेष्ठ ।
सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरुले राज्यले आफ्नो योगदानको उचित कदर नगरेको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्। शनिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सरकारले विभेदकारी नीति अपनाएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन्।
नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले सेवा निवृत्त राष्ट्रसेवकहरूको समस्यालाई गम्भीर रूपमा नलिए सरकारविरुद्ध संघर्ष गर्ने बताए। उनले अहिलेको अवस्थामा पनि सेवा निवृत्त कर्मचारीहरूले आन्दोलन गर्नुपर्ने बाध्यता हुनु दुःखद रहेको उल्लेख गरे।
सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका अध्यक्ष बाबुराम पाण्डेले भने, “वहालवाला कर्मचारीलाई ५ हजार भत्ता दिइएको छ तर सेवा निवृत्त कर्मचारीलाई बेवास्ता गरिएको छ। सरकारले ४ वर्षदेखि तलब वृद्धि पनि गरेको छैन। यसले हाम्रो जीवनभरको योगदानको अवमूल्यन गरेको छ।”
महासचिव विनोद थापाले सेवा–सुविधा नियोजित ढंगले नबढाइँदा पीडित भएको र यसको विरोधमा उत्रिनुको विकल्प नरहेको बताए। संस्थापक सदस्य तेज प्रसाद पुडासैनीले भने, “मन्त्री, सांसद, उच्चपदस्थको सेवा–सुविधा बढाउने तर जनसेवामा जीवन खपाएका कर्मचारीलाई बेवास्ता गर्ने सरकार गैरजिम्मेवार हो।”
कार्यक्रममा सल्लाहकार बासुदेव हुमागाई, गंगाबहादुर भूजेल, उपाध्यक्ष मित्रप्रसाद खतिवडा, रमा घिमिरेलगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति थियो।
सेवा निवृत्त कर्मचारीहरूले अबको कदम निर्णायक संघर्ष हुने स्पष्ट संकेत दिएका छन्।