ई-मधेश न्युज
आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयगत बजेटः शिक्षा, गृह र भौतिक पूर्वाधार शीर्षमा
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, १५ जेष्ठ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको कुल बजेट प्रस्तुत गरेका छन्। मन्त्रालयगत विनियोजन हेर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सबैभन्दा धेरै बजेट पाउने मन्त्रालय बनेको छ।
शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ८ अर्ब रुपैयाँले बढी हो। गत वर्ष यो मन्त्रालयले २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट पाएको थियो।
दोस्रो स्थानमा गृह मन्त्रालय छ, जसलाई २ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। सुरक्षा, शान्ति र प्रशासनिक संरचनाको सञ्चालनका लागि गृह मन्त्रालयले सधैंजसो उच्च बजेट पाउँदै आएको छ।
तेस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ, जसलाई १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट दिइएको छ। यो बजेट सडक, पुल, पूर्वाधार विकास र यातायात व्यवस्थापनमा खर्च गरिनेछ।
शहरी विकास मन्त्रालयले पनि एक खर्ब १८ अर्ब रुपैयाँको बजेट पाएको छ। यो बजेट सहरहरूमा योजनाबद्ध विकास, आवास, खानेपानी र सरसफाइमा खर्च हुने अपेक्षा गरिएको छ।
सबैभन्दा ठूलो बजेट हिस्सा भने अर्थ मन्त्रालयले आफैँसँग राखेको छ, जसमा ऋण भुक्तानी, वैदेशिक सहायता व्यवस्थापन, पूँजीगत खर्च र अन्य शीर्षकहरू समेटिएका छन्।
यस बजेटले शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिएको देखिए पनि समग्र खर्चको प्रभावकारी कार्यान्वयनमा सरकारको क्षमतामाथि प्रश्न उठ्ने गर्छ। यो वर्ष त्यो चुनौती कसरी सम्बोधन गरिन्छ, हेर्न बाँकी छ।