ई-मधेश न्युज
उपराष्ट्रपति यादवद्वारा १८औं गणतन्त्र दिवसको शुभकामना सन्देश
लिलाकान्त यादव,
काठमाडौं, १५ जेष्ठ ।
१८औं गणतन्त्र दिवस २०८२ को अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै भावपूर्ण सन्देश जारी गरेका छन्।
उपराष्ट्रपति यादवले गणतन्त्रको स्थापनाका लागि भएका जनआन्दोलन, मधेश जनविद्रोह र जनसंघर्षमा आफ्नो ज्यान उत्सर्ग गर्ने सहिदहरूलाई श्रद्धापूर्वक सम्झिँदै अंगभंग र बेपत्ता पारिएका व्यक्तिहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
उनको भनाइमा, गणतन्त्र दिवस केवल उत्सव होइन, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारलाई स्मरण गर्ने अवसर हो। नागरिकको अधिकार, समानता, समावेशिता र सहभागिता सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सशक्त माध्यम बनेको उल्लेख गर्दै उनले यसलाई कार्यान्वयनमा ल्याउन संविधान आधार स्तम्भ रहेको बताए।
उपराष्ट्रपति यादवले राजनीतिक दलहरूको भूमिकाको पनि चर्चा गर्दै उनीहरूलाई जनताप्रति जिम्मेवार, सुशासनमा प्रतिबद्ध र पारदर्शी बन्न आह्वान गरे। देशमा बढ्दो असन्तुष्टि, निराशा र विश्वासको खाँचो लोकतान्त्रिक तरिकाले सम्बोधन गर्नु जरुरी रहेको उनले औँल्याए।
उनले राज्य संयन्त्र, सरकार र नेताहरूले जनअपेक्षालाई प्राथमिकता दिँदै अधिकार र कर्तव्यलाई परिपूरक रूपमा आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
सन्देशको अन्त्यमा उपराष्ट्रपति यादवले यो दिवस लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र संविधानजस्ता राष्ट्रिय उपलब्धिहरूको रक्षार्थ सबै नेपाली एकजुट हुन प्रेरणाको स्रोत बनोस् भन्ने कामना व्यक्त गरे।