ई-मधेश न्युज
कोसी प्रदेश पर्यटकीय सम्भावनामा देशकै सम्पन्नः सांसद भट्टराई
ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १० जेष्ठ ।
सांसद तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले कोसी प्रदेशलाई पर्यटकीय दृष्टिले नेपालकै सबैभन्दा सम्पन्न प्रदेश घोषित गरेका छन्। काठमाडौंमा सुरु भएको ‘कोसी प्रोजेक्ट शो केस’को उद्घाटन गर्दै उनले कोसी प्रदेशमा प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक र साहसिक पर्यटनको अपार सम्भावना रहेको बताए।
भट्टराईले केचनाकवलदेखि सगरमाथासम्म, भारतको बिहारदेखि चीनको तिब्बतसम्मको ३०० किलोमिटर दुरीभित्र रहेको कोसी प्रदेशले पर्यटनमार्फत समृद्धि ल्याउन सक्ने धारणा राखे। उनले प्याराग्लाइडिङ, र्याफ्टिङ, मेडिटेसनजस्ता साहसिक र स्वास्थ्य पर्यटनसमेत विस्तार गर्न सकिने बताए।
कार्यक्रममा अल्पाइन माउन्टेन फेडरेशनका अध्यक्ष गोविन्द भट्टराईले पर्यटनलाई व्यवसायीकरण गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।
‘कोसी प्रोजेक्ट शो केस’मा विभिन्न इन्जिनियरिङ कलेजका १० उत्कृष्ट टिमले डाँडाबजार, माईपोखरी, रौता पोखरी, अन्तु, लिखु लगायत क्षेत्रको स्थलगत अध्ययन गरी पर्यटकीय परियोजना प्रस्तुत गरेका छन्। कार्यक्रमको उद्देश्य कोसीको पर्यटन विकासमा नयाँ सम्भावनाको पहिचान र लगानी प्रवाह गर्नु हो।
आयोजक एलिसन हस्पिटालिटीका अनुसार कार्यक्रम जेठ ११ गतेसम्म सञ्चालन हुनेछ। विजेता टिमलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।