ई-मधेश न्युज
सप्तरीको मलेकपुरमा ट्राफिक दुर्घटनाः दुई युवकको मृत्यु, एक गम्भीर घाइते
लिलाकान्त यादव,
राजविराज, १० जेष्ठ ।
सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिबार दिउँसो भएको सडक दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार मृतकहरूमा विष्णुपुर गाउँपालिका–१ जमुनि मध्यपुराका १९ वर्षीय सन्तोष यादव र २२ वर्षीय सागर मण्डल रहेका छन्। उनीहरूको शव गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको शवगृहमा राखिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
दुर्घटना पत्थरगाढाबाट राजविराजतर्फ आउँदै गरेको इँटा लोड स १ त ५४४२ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट गइरहेको म.प्र.०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको हो। मोटरसाइकल ट्याक्टरको पछाडिको भागमा ठोक्किएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ।