ई-मधेश न्युज
भारदहमा मकै सुकाउने नाममा सडक अवरुद्ध, किसानहरूको अराजकताप्रति विरोध
भुपदेव माली,
राजविराज, ०९ जेष्ठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा किसानहरूले मकै सुकाउने नाममा सवारी अवरुद्ध गर्ने अराजक कार्य गरेको पाइएको छ। कोशी पश्चिमी तटबन्धअन्तर्गत कंकालिनी मन्दिरदेखि उत्तर भलुवा सडक खण्डसम्म मकै सडकमा सुकाइँदा सवारी साधनहरू चल्न असहज भएको छ।
स्थानीय किसानहरूले सडकमा मकै सुकाउँदै सवारी चालकहरूलाई अपशब्द गाली गर्ने, धम्क्याउने र झगडा गर्ने गरेको स्थानीयको आरोप छ। शुक्रबार बिहान हलुवाको खत्रे टोलका रामकुमार खंग खत्वेले केही सवारी चालकलाई बाटो रोकी गालीगलोज र धम्की दिएका थिए।
सडक जामसम्बन्धी गुनासो इलाका प्रहरी कार्यालय भारदका प्रमुख गोविन्द घिसिङसम्म पुगेपछि प्रहरी टोलीले शुक्रबार दिउँसो १२ः३० बजे घटनास्थल पुगेर किसानलाई सम्झाउँदै सडक नअवरुद्ध गर्न चेतावनी दिएको छ।
सात दिनदेखि लगातार मकै सुकाउने कारण सवारी आवागमन प्रभावित हुँदा स्थानीय बासिन्दा, यात्रु र चालकहरूले विरोध जनाएका छन्। सार्वजनिक सडक व्यक्तिगत प्रयोगमा ल्याई अराजक व्यवहार देखाइनु आपत्तिजनक भएको भन्दै स्थानीयले प्रशासनसँग कडाइका साथ कदम चाल्न माग गरेका छन्।