ई-मधेश न्युज
हनुमाननगर जेल ब्रेक स्मृतिमा नेपाल–भारत जनसम्बन्ध एकता कार्यक्रम सम्पन्न
लिलाकान्त यादव,
राजविराज, ०८ जेष्ठ ।
पूर्व सिंचाइ मन्त्री उमेश यादवको अध्यक्षता र पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको प्रमुख आतिथ्यमा “हनुमाननगर जेल ब्रेक नेपाल–भारत जनसम्बन्ध एकता कार्यक्रम“ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सप्तरीको ऐतिहासिक स्थल हनुमाननगरमा आयोजित गरिएको थियो।
यस विशेष कार्यक्रमले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, विशेषतः जेल ब्रेक घटनाको स्मरण गर्दै दुवै देशबीचको जनस्तरको मित्रता र ऐक्यबद्धता झल्काएको छ। सहभागी वक्ताहरूले हनुमाननगर जेल ब्रेक जस्तो ऐतिहासिक घटनालाई नयाँ पुस्ताले जान्न र बुझ्न स्थानीय पाठ्यक्रममा समावेश गर्नु आवश्यक रहेको सुझाव दिए।
कार्यक्रममा वक्ताहरूले यस्ता ऐतिहासिक घटनाहरू केवल स्मृति मात्र नभई शिक्षा र चेतनाको स्रोत बन्नुपर्नेमा जोड दिए। आयोजक संस्थाले सहभागिताका लागि समय उपलब्ध गराएकोमा सहभागीहरूले आभार व्यक्त गरेका छन्।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा स्थानिय बासिन्दाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूमध्ये कतिपयले कार्यक्रमपछिका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै यस्ता प्रयासहरू राष्ट्रिय एकता र इतिहासप्रति जागरूकता बढाउने दिशामा प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्।