ई-मधेश न्युज
सप्तरीमा आम सञ्चार प्राधिकरण मधेस प्रदेशको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न
भुपदेव माली,
राजविराज, ०७ जेष्ठ ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशको भेटघाट तथा परिचयात्मक कार्यक्रम बुधबार सप्तरीको राजविराजमा सम्पन्न भएको छ। कार्यक्रम आम सञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष जितेन्द्र खड्गाको पहलमा आयोजना गरिएको हो। अध्यक्ष खड्गाले पदभार ग्रहणपछिको पहिलो भ्रमण आफ्नै गृह जिल्ला राजविराजबाट गरेका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष खड्गाले मिडिया तथा पत्रकारहरूलाई उपलब्ध सुविधा पर्याप्त नभए पनि हाल उपलब्ध सुविधा प्रभावकारी ढंगले उपयोग गर्नुपर्ने बताए। उनले पूर्व अध्यक्ष श्यामसुन्दर यादवको कार्यकालमा कार्यालयसमेत अभाव भएको कठिन समयमा पत्रकार हितमा उल्लेखनीय काम भएको भन्दै त्यसको निरन्तरता दिँदै थप सुधार र सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
खड्गाले मधेसका मिडियालाई लोककल्याणकारी विज्ञापनको पहुँच विस्तार, दुर्घटना विमाको पुनरावलोकन, र पत्रकार जीवन विमा जस्ता योजनाहरू अगाडि बढाइने जानकारी दिए। दुर्घटना विमामा पत्रकारभन्दा विमा कम्पनीले बढी फाइदा उठाएको उल्लेख गर्दै यसप्रति पुनर्विचार आवश्यक रहेको धारणा राखे।
पूर्व अध्यक्ष यादवले कानुनी अभावका कारण अनलाइन मिडियाको दर्ता तथा नविकरण, सुविधा विस्तार जस्ता कार्यमा समस्या आएको बताए। उनले हालसम्म आवश्यक ऐन, नियमावली र कार्यविधि पूर्ण रूपमा नबनेकाले पत्रकार हितमा अपेक्षित काम गर्न कठिन रहेको स्पष्ट पारे। साथसाथै पत्रकारहरूले आफ्ना हकहितका लागि खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए।
वरिष्ठ पत्रकार शिव नारायण साह (सुरज) ले व्यवस्था परिवर्तनमा मिडियाको योगदानलाई नेतृत्व तहले बिर्सिएको आरोप लगाए। उनले स्थानीय तहले स्थानीय मिडियालाई प्राथमिकता नदिँदा मिडिया संकटमा परेको बताए। विज्ञापन बाहिरी जिल्लातर्फ जाने प्रवृत्ति रोक्न नसकेसम्म सुधार सम्भव नहुने उनको तर्क थियो।
कार्यक्रममा पत्रकार महासंघका केन्द्र तथा जिल्ला तहका पदाधिकारी, पूर्व अध्यक्षहरू र विभिन्न मिडियामा कार्यरत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।