ई-मधेश न्युज
वीरगंजमा जसपा नेपालको खबरदारी सभा, उत्पीडित समुदायको पक्षमा ३५ बुँदे अवधारणा पत्र सार्वजनिक
मधेश न्यूज सम्वाददाता,
राजविराज, ०३ जेष्ठ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगंजमा खबरदारी सभा गर्दै केन्द्रिय परिसंघमार्फत ३५ बुँदे अवधारणा पत्र सार्वजनिक गरेको छ। शनिबार टाउन हलमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले सभाको उद्घाटन गर्दै १३ पृष्ठको अवधारणा पत्र प्रस्तुत गरे।
केन्द्रिय परिसंघले देशभरका दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायका मुद्दालाई समेटेर संयुक्त संघर्षको घोषणा गरेको छ। जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि दबाब सिर्जना गर्न यो खबरदारी सभाको आयोजना गरेको जनाएको छ।
अवधारणा पत्रमा सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक विभेद अन्त्य गर्दै समानता, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न संघर्ष गरिने उल्लेख गरिएको छ। कार्यक्रममा जसपा नेपालका शीर्ष नेताहरू र विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।