ई-मधेश न्युज
प्रधानमन्त्रीकै दबाबमा ऐन महर बचाउन खोजिँदैछः रश्मिला धामीको आरोप
र्ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ३१ वैशाख ।
बलात्कार पीडित रश्मिला धामीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष दबाबमा ऐन महरलाई बचाउने प्रयास भइरहेको आरोप लगाएकी छिन्। बुधबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले उच्च अदालत पाटनले आफनो पक्षमा फैसला गरे पनि सरकारी वकिल कार्यालय र प्रहरीले महरलाई जोगाउने रणनीति अपनाएको बताइन्।
२०८१ माघ ९ गते अदालतले महरविरुद्ध मुद्दा चलाउन आदेश दिए पनि चार महिनासम्म पनि पक्राउ नगर्नु राजनीतिक संरक्षणको प्रमाण भएको धामीको भनाइ छ। उनले भनिन्, “बलात्कारी खुलेआम हिँडिरहेको छ, जबकि मलाई अदालतको भरमा न्यायको आशा मात्र बाँकी छ।“
धामीले ऐन महरले आफ्नो जीवन बर्बाद गरिसकेको बताउँदै न्यायका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताइन्। उनले सोधिन्, “जघन्य अपराधको अनुसन्धान बाहिर राखेर गर्न मिल्छ?“ साथै, धामीले सामान्य नागरिकमाथि राजनीतिक प्रतिशोध देखाउने सरकार किन यस्ता गम्भीर अपराधीलाई उन्मुक्ति दिन खोजिरहेको हो भन्ने प्रश्न उठाइन्।
उनले प्रहरी र सरकारी वकिल कार्यालयको कार्यशैली गैरजिम्मेवार भएको भन्दै तत्काल ऐन महरलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरिन्।