ई-मधेश न्युज
उपराष्ट्रपति यादव र नर्वेली राजदूतबीच शिष्टाचार भेट
लिलाकान्त यादव,
काठमाडौं, ३१ वैशाख ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले मंगलबार लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी र बहुपक्षीय सहकार्यबारे विचारविमर्श भएको थियो।
उपराष्ट्रपति यादवले नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण रूपमा अघि बढेको बताउँदै लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायजस्ता साझा मूल्यमा आधारित सम्बन्ध थप सुदृढ हुँदै गएको उल्लेख गर्नुभयो। उहाँले नवीकरणीय ऊर्जा, शिक्षा र सुशासन क्षेत्रमा नर्वेले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
सगरमाथा संवाद मञ्चमार्फत जलवायु परिवर्तन र हिमाली क्षेत्रको विषयमा अन्तर्राष्ट्रिय बहस चलाउने उद्देश्य रहेको जनाउँदै, उपराष्ट्रपति यादवले सन् २०२५ मे १६–१८ मा हुने संवादमा नर्वेबाट उच्चस्तरीय सहभागिता रहने अपेक्षा व्यक्त गर्नुभयो।
राजदूत ड्रामडलले नेपालसँगको सम्बन्धलाई नर्वेले उच्च प्राथमिकता दिएको बताउँदै जलविद्युत्, हरित ऊर्जा र सांस्कृतिक विविधता नजिकबाट अनुभव गर्न पाउँदा खुशी लागेको बताउनुभयो। साथै, सगरमाथा संवादमा नर्वेले सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।