ई-मधेश न्युज
सरकार तस्कर–विचौलियाको कब्जामा, जनताको असन्तुष्टि चरममाः उपेन्द्र यादव
ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २७ बैशाख ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई तस्कर र विचौलियाले सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
समाजवादी महिला संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै यादवले बजेट निर्माणको क्रममा विचौलिया मुख्यकक्षसम्म पुगेको उदाहरण दिँदै सरकार जनताको नभई दलालहरूको भएको पुष्टि गरिसकेको बताए।
अमेरिकी राष्ट्रपतिले नेपाली नेताहरूलाई ‘फ्रड लिडर’ भनेको प्रसंग उल्लेख गर्दै यादवले सरकारले अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वास गुमाइसकेको दाबी गरे।
वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले देश चलिरहेको भए पनि श्रमिकका हकमा ठोस नीति ल्याउन नसक्नु राज्यकै लाज भएको उनको भनाइ थियो।
संविधान संशोधनको नाममा कांग्रेस–कम्युनिष्टले संघीय गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै यादवले परिवर्तन विरोधी शक्तिहरू सडक, सदन र षड्यन्त्र तीनै मोर्चामा लागेको बताए।
महिलालाई समान अधिकार नदिएसम्म विकास सम्भव नहुने भन्दै उनले समान अवसर, सम्पत्ति, शिक्षा र न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने धारणा राखे।
महाधिवेशन आइतवारसम्म चल्ने छ।