ई-मधेश न्युज
प्रेस चौतारी नेपाल शाखा सप्तरीको दोस्रो बैठक सम्पन्न, विभिन्न निर्णय पारित
भुपदेव माली,
राजविराज, २७ वैशाख ।
प्रेस चौतारी नेपाल शाखा सप्तरीको दोस्रो बैठक शनिबार राजविराजमा सम्पन्न भएको छ। डम्बर राईको अध्यक्षता र नेकपा (एमाले) सप्तरीका उपसचिव दुर्गानन्द ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले संगठन सुदृढीकरण र कार्यगत योजना कार्यान्वयनका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
उपसचिव ठाकुरले पार्टीलाई बलियो बनाउन प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहेको भन्दै आन्तरिक प्रतिस्पर्धालाई एकतामा बदल्नुपर्नेमा जोड दिए। अध्यक्ष डम्बर राईले संगठनलाई पृथक तरिकाले अघि बढाइरहेको बताएका छन्।
बैठकले बैंक खाता सञ्चालन अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा मात्र हुने, छलफलबिनै रकम निकाल्न नपाइने निर्णय गरेको छ। साथै, आर्थिक वर्ष २०८१÷८२ मा पत्रकार क्षमता अभिवृद्धिका कार्यक्रमका लागि स्थानीय तह र प्रदेश सरकारसँग पहल गर्ने निर्णय समेत गरिएको छ।
प्रेस चौतारी सप्तरीको आठौं अधिवेशनमार्फत सदस्य बनेका मनोज मेहतालाई अन्य संगठनमा लागेकाले संगठनको साधारण सदस्यबाट निस्कासन गरिएको छ। बैठक सचिव कृष्ण मण्डलको सञ्चालनमा सम्पन्न भएको थियो।