ई-मधेश न्युज
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच शिष्टाचार भेट
लिलाकान्त यादव,
काठमाडौं, २३ बैशाख ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले मंगलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभयो। भेटमा नेपाल–इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि, श्रम तथा शिक्षा क्षेत्रमा सहकार्यबारे महत्वपूर्ण छलफल भएको थियो।
उपराष्ट्रपति यादवले सन् १९६० मा स्थापना भएको कूटनीतिक सम्बन्ध यथावत मित्रतापूर्ण रहँदै आएको उल्लेख गर्दै विभिन्न सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। उहाँले आर्थिक, व्यापारिक, पर्यटन तथा लगानी क्षेत्रमा सहयोगको सम्भावना रहेको बताए।
इजरायलमा कार्यरत ४५ सय नेपाली कामदारको सुविधा सुनिश्चित गर्न पहल गर्न अनुरोध गर्दै उहाँले ‘लर्न एण्ड अर्न’ कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै, उक्त कार्यक्रमअन्तर्गत हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली र हराइरहेका विपिन जोशीबारे विशेष ध्यान दिन आग्रह गर्नुभयो।
राजदूत बासले दुई मुलुकबीचको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, नेपाली कामदारहरूको सुविधा अनुगमन भइरहेकाले सुधारको प्रयास जारी रहेको बताउनुभयो।