ई-मधेश न्युज
बारा जिल्लालाई सघन शहरी विकास कार्यक्रमअन्तर्गत समेट्न माग
लिलाकान्त यादव,
बारा, २२ वैशाख ।
कृषि र उद्योगमा महत्वपूर्ण योगदान दिँदै आएको बारा जिल्ला आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य र शहरीकरणमा पछाडि परेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले नेपाल सरकारसँग विशेष योजना समावेशको माग गरेका छन्।
बारा जिल्लालाई सघन शहरी विकास योजना अन्तर्गत समेट्नुपर्ने मागसहित विभिन्न योजनाहरू आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न अनुरोध गरिएको छ।
सुझाव गरिएका योजनाहरूमा महागढीमाई नगरपालिका–१० र ३ मा अवस्थित गजभवानीपुरलाई नयाँ सहरका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणको बजेट सुनिश्चित गर्ने प्रस्ताव प्रमुख छ। साथै, बारा निर्वाचन क्षेत्र नं २ मा बसोबास गर्ने भूमिहीन, दलित तथा विपन्न समुदायका लागि जनता आवास योजना अन्तर्गत ५ हजार घर निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्न पनि जोड दिइएको छ।
त्यस्तै, महागढीमाई नगरपालिकाको लौतनदेखि सिशवा हुँदै कोल्बी नगरपालिका–८ सम्म करिब १५ किलोमिटर पक्की सडक निर्माणका लागि पनि बजेट विनियोजन गर्न आग्रह गरिएको छ।
स्थानीयस्तरमा पूर्वाधार विकास तथा सामाजिक न्याय सुनिश्चित गर्न यी योजनाहरू अपरिहार्य भएको जनाइएको छ।