ई-मधेश न्युज
संघीयताको पुनःसंरचना आवश्यकः अध्यक्ष उपेन्द्र यादव
ईमधेश न्यूज सम्वाददता,
नवलपरासी, १८ वैशाख ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका सहमति कार्यान्वयन नगरेर राज्यले मधेशी जनतालाई धोका दिएको आरोप लगाएका छन्।
पश्चिम नवलपरासीको रामग्राममा आयोजित पार्टीको प्रथम एकता जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताको मर्म विपरीत ‘एक मधेश, एक प्रदेश’ नदिई सरकार र ठूला दलहरूले ऐतिहासिक भूल गरेको बताए। उनले अब जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित हुने गरी संघीयताको पुनःसंरचना अपरिहार्य भएको बताए।
यादवले पञ्चायतदेखि राजतन्त्रसम्मको शासन व्यवस्था अन्त्य गरेर संघीय गणतन्त्र ल्याइए पनि शासन गर्ने पात्र फेरिन नसकेको उल्लेख गरे। “संविधानमा परिवर्तन आयो, तर नश्लीय सोच बोकेका नेताहरूको कारण मुलुकको अवस्था फेरिएन,“ उनले भने, “भ्रष्टाचार मौलाउँदै गइरहेको छ।“
अध्यक्ष यादवले निर्वाचनको समयमा भोजभतेर खुवाउने उम्मेदवारलाई मत दिने प्रवृत्ति अन्त्य गरेर, आफ्ना अधिकार र पहिचानका पक्षमा लड्ने पार्टी र नेताहरूलाई समर्थन गर्नुपर्नेमा जोड दिए। उनले निर्णायक आन्दोलनको तयारीमा सबै मधेशी जनताले ऐक्यबद्धता जनाउनुपर्ने आवश्यकता औंल्याए।