ई-मधेश न्युज
उपराष्ट्रपति यादव र युरोपेली संघका राजदूत लोरेन्जोबीच शिष्टाचार भेटवार्ता
लिलाकान्त यादव,
काठमाडौं, १६ वैशाख ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोबीच मंगलबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। काठमाडौं लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे संवाद भएको थियो।
उपराष्ट्रपति यादवले सन् १९७४ मा स्थापना भएको नेपाल–ईयू सम्बन्धको चर्चा गर्दै विकास, लोकतन्त्र र बहुपक्षीयतामा साझा विश्वास रहेको बताए। कर्णाली लगायत दुर्गम क्षेत्रहरूमा युरोपेली संघको सहयोगले जनताको जीवनस्तर उकास्न मद्दत पुगेकोमा उनले प्रशंसा व्यक्त गरे।
‘सगरमाथा संवाद’को आगामी संस्करण मे १६–१८, २०२५ मा आयोजना हुने जानकारी दिँदै यादवले ईयूको उच्चस्तरीय सहभागिताको अपेक्षा राखे। साथै, युरोप–डेको अवसरमा यूरोपेली जनताको सुख र समृद्धिको शुभकामना व्यक्त गरे।
राजदूत लोरेन्जोले नेपाल–ईयू सम्बन्ध थप सुदृढ भएको बताउँदै यो वर्ष युरोप–डे पाटन दरबार क्षेत्रमा मनाउने जानकारी दिइन्। उनले दूधकोशी जलविद्युत परियोजना, कर्णाली र मधेश प्रदेशमा नविकरणीय ऊर्जा र शिक्षा क्षेत्रमा ईयूको लगानीको प्रतिबद्धता जनाइन्।