ई-मधेश न्युज
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेट
लिलाकान्त यादव,
काठमाडौं, १५ वैशाख ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रोबर्ट डोमिनिक रुसेल फेनबीच सोमबार उपराष्ट्रपतिको कार्यालय, लैनचौरमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटमा शुभकामना आदानप्रदानसँगै नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, विकास साझेदारी र आपसी सहयोगका विविध पक्षमा छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १८१६ मा स्थापन भएको कूटनीतिक सम्बन्ध र सन् २०२३ मा मनाइएको मैत्री सन्धिको १००औं वार्षिकोत्सव स्मरण गर्दै बेलायतलाई नेपालको प्रमुख विकास साझेदारको रूपमा धन्यवाद दिए।
यादवले ब्रिटिस गोर्खाको योगदानको सराहना गर्दै उनीहरूको जायज गुनासाहरू समाधान गर्न आग्रह गरे। उनले आगामी मे १६–१८ मा काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’मा बेलायतको उच्चस्तरीय सहभागिता अपेक्षा गरिएको बताए।
राजदूत फेनले नेपाल–बेलायत सम्बन्ध अझ बलियो रहेको उल्लेख गर्दै ‘सगरमाथा संवाद’मा बेलायतको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले ब्रिटिस गोर्खाका विषयमा पनि संवाद जारी रहेको जानकारी दिए।