ई-मधेश न्युज
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलका नेताहरूले मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। बैशाख २७ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले वर्तमान सरकारलाई यथास्थितिमा अघि बढाउँदै आवश्यक प्रक्रियाअनुसार विश्वासको मत लिने सहमति गरेको हो। बैठकपछि जारी संयुक्त निर्णयपत्रमा सरकारलाई स्थायित्व र निरन्तरता दिन सबै दल प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। निर्णयपत्रमा नेपाली कांग्रेसका दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका सरोज कुमार यादव, नेपाली कम्युनिष्ट पार्टीका युवराज भट्टराई तथा लोसपा नेपालका जयनुल राइनको हस्ताक्षर रहेको छ। प्रतिनिधिका रूपमा रानी शर्मा तिवारीको पनि हस्ताक्षर रहेको देखिन्छ। सत्ता गठबन्धनभित्र पछिल्लो राजनीतिक समीकरणबारे विभिन्न अड्कलबाजी भइरहेका बेला साझेदार दलहरूले संयुक्त रूपमा सरकारको पक्षमा उभिने निर्णय सार्वजनिक गरेका हुन्। विश्वासको मत लिने प्रक्रिया चाँडै अघि बढाइने जनाइएको छ।