ई-मधेश न्युज
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २७ बैशाख ।
बिबेक महर्जन बोबा को नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक भएको छ। परम्परागत नेपाली खेल ‘लुकामारी’ बाट प्रेरित यस गीतले आधुनिक पप–फ्युजन शैलीमार्फत सांस्कृतिक स्मृति र समकालीन संगीतबीचको संयोजन प्रस्तुत गरेको छ।
‘ढ्याप्पा’ शब्द नेपाली समाजमा लुकामारी खेलसँग जोडिएको परिचित शब्द हो। खेलमा साथी भेटेपछि उच्चारण गरिने यही शब्दलाई गीतको शीर्षक बनाइएको कलाकारले बताएका छन्। गीतमार्फत बाल्यकालका अनुभव, भावनात्मक उतारचढाव र संघर्षपछिको उत्साहलाई सांगीतिक रूपमा अभिव्यक्त गरिएको छ।
गीत ‘ढ्याप्पा’ नामक एल्बमअन्तर्गत समावेश रहेको जनाइएको छ, जसले कलाकारको सांगीतिक यात्राका विभिन्न चरणलाई प्रतिनिधित्व गर्ने प्रयास गरेको छ। सुरुआतमा भावुक र मधुर लयमा अघि बढ्ने गीत क्रमशः ऊर्जाशील बन्दै जान्छ, जसले दुःखबाट मुक्त हुँदै स्वतन्त्रता र खुसीतर्फको यात्रालाई संकेत गर्छ।
म्युजिक भिडियोमा मनोज महर्जन मुख्य भूमिकामा देखिएका छन्। भिडियोको निर्देशन विश्वास बज्राचार्य ले गरेका हुन्। भिडियोमा नेपाली सांस्कृतिक परिवेशलाई आधुनिक दृश्य शैलीसँग आकर्षक ढंगले प्रस्तुत गरिएको छ।