ई-मधेश न्युज
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २५ बैशाख ।
नेपालको शैक्षिक क्षेत्र र सूचना प्रविधि उद्योगबीचको दूरी कम गर्ने उद्देश्यसहित टेकपाइला इनोभेसन प्रा.लि. र कान्तिपुर सिटी कलेज (केसीसी) बीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा साइबर सुरक्षा शिक्षासम्बन्धी महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
पुतलीसडकस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी तथा कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार विद्यार्थीहरूलाई एआई र साइबर सुरक्षाका क्षेत्रमा उद्योगमैत्री तथा प्रयोगात्मक शिक्षा प्रदान गरिनेछ । टेकपाइलाले विद्यार्थी र प्राध्यापकहरूका लागि विशेष तालिम, बुटक्याम्प, कार्यशाला तथा सेमिनार सञ्चालन गर्नेछ । साथै योग्य विद्यार्थीहरूले इन्टर्नसिप तथा रोजगारीका अवसर पनि प्राप्त गर्नेछन् ।
दुवै संस्थाले वर्तमान विश्वव्यापी प्रविधि मापदण्डअनुसार पाठ्यक्रम परिमार्जन गर्ने, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ह्याकाथन, आइडिया फेस्ट र उद्योग–शिक्षा संवाद कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन् ।
कार्यक्रममा बोल्दै चिरञ्जीबी अधिकारीले उद्योगको अनुभवलाई प्रत्यक्ष रूपमा कक्षाकोठासम्म पुर्याएर दक्ष जनशक्ति उत्पादन गर्नु साझेदारीको मुख्य उद्देश्य रहेको बताउनुभयो । त्यस्तै, प्रिन्सिपल राजु कट्टेलले यस सहकार्यले विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
दुई वर्षका लागि गरिएको यो सम्झौताले ‘डिजिटल नेपाल’ अभियानलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।