ई-मधेश न्युज
व्यापार र लगानी प्रवद्र्धनका लागि काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २४ बैशाख ।
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि “साउथ एसिया ट्रेड फेयर २०२६” सुरु भएको छ । दक्षिण एसियाली मुलुकहरूबीच व्यापार, लगानी र व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको मेला वैशाख २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । नेपालसहित भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका व्यवसायी तथा प्रदर्शकहरूको सहभागिता रहेको छ ।
मेलाको उद्घाटन नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटिया, बङ्गलादेशका राजदूत सफिक्वयर रहमान, नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष दिपक मल्होत्रा तथा मेला संयोजक सुमन महर्जनले संयुक्त रूपमा गर्नुभएको हो । आयोजकका अनुसार मेलामा करिब १५० भन्दा बढी प्रदर्शक सहभागी छन् भने एक लाखभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्रालिले आयोजना गरेको मेलामा कपडा, हस्तकला, कृषि उत्पादन, सूचना प्रविधि, सौन्दर्य सामग्री, घरेलु उपकरण, सवारी साधन तथा पार्टपुर्जालगायतका सामग्री प्रदर्शनीमा राखिएका छन् । साथै व्यापारिक भेटघाट, फुड फेस्टिवल, रक्तदान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् ।
आयोजकले मेलाले नेपालमा व्यापार तथा लगानी विस्तारका नयाँ सम्भावना सिर्जना गर्ने, निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने तथा दक्षिण एसियाली मुलुकहरूबीच आर्थिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।