ई-मधेश न्युज
मुक्त घोषणा भए पनि अधिकार नपाएको कमलरीहरूको गुनासो
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २४ बैशाख ।
मुक्त घोषणा भएको १३ वर्ष बितिसक्दा पनि अधिकार र पुनःस्थापना सुनिश्चित नभएको भन्दै कमलरी तथा वनकरिया समुदायले सरकारसमक्ष ज्ञापनपत्र बुझाएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले आफूहरूको समस्या अझै समाधान नभएको बताएका हुन् ।
मुक्त कमलरी विकास मञ्चकी पूर्व केन्द्रीय अध्यक्ष हिरामोति चौधरीले सरकारले कमलरी मुक्तिको घोषणा गरे पनि व्यवहारमा न्याय र अधिकार सुनिश्चित नभएको गुनासो गरिन् । उनका अनुसार नेपालमा १२ हजारभन्दा बढी मुक्त कमलरी रहे पनि सबैले परिचयपत्र र राज्यका सुविधा पाउन सकेका छैनन् ।
कञ्चनपुरकी सिता डगौरा र कैलालीकी इन्द्र चौधरीले मुक्त कमलरीहरूको आर्थिक तथा सामाजिक अवस्था अझै कमजोर रहेको बताउँदै शिक्षा, स्वास्थ्य, आवास र रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरे ।
त्यसैगरी वनकरिया समुदायका प्रतिनिधिहरूले पनि बसोबास गरिरहेको भूमि स्थायी रूपमा आफ्नै नाममा गर्न माग गरेका छन् । समुदायकी सन्तमाया वनकरियाले २० वर्षअघि बसोबासका लागि गरिएको सम्झौताको अवधि सकिँदा पनि स्थायी व्यवस्थापन नभएको बताइन् । उनीहरूले आफूहरू विस्थापित हुने जोखिममा रहेको भन्दै लालपूर्जा सहितको अधिकार माग गरेका छन् ।
वनकरिया समुदाय नेपालका लोपोन्मुख आदिवासी जनजातिमध्ये एक हो । उनीहरूले राज्यबाट संरक्षण, सम्मानजनक बसोबास र सामाजिक सुरक्षाको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा पीडितहरूले तथ्यांक संकलन, परिचयपत्र वितरण, शिक्षा–स्वास्थ्य, सामाजिक सुरक्षा, भूमिअधिकार तथा न्याय र क्षतिपूर्तिको व्यवस्था तत्काल लागू गर्न सरकारसँग आग्रह गरेका छन् ।