ई-मधेश न्युज
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
ईमधेश न्युज सम्वाददाता,
झापा, १६ बैशाख ।
झापाको बिर्तामोड, चारआली र काँकडभिट्टा क्षेत्रमा केही तेस्रोलिंगी व्यक्तिहरूले नील हिरा समाजको परिचयपत्र प्रयोग गरी चन्दा सङ्कलन गरेको पाइएको छ। नायक रुबिना किन्नर र मेघा किन्नरको तस्बिरसहितको कार्ड देखाउँदै रकम माग्ने गरिएको स्थानीयले बताएका छन्।
कार्डमै ‘बिना परिचयपत्र अनुदान नदिनु’ र ‘नक्कली किन्नरदेखि सावधान’ जस्ता सन्देशसमेत उल्लेख गरिएको छ। स्थानीयका अनुसार समूहले रकम तोकेर माग्ने, नदिए गालीगलौज तथा अभद्र व्यवहार गर्ने घटनाहरू बढेका छन्। यसले सर्वसाधारणमा त्रास सिर्जना गरेको गुनासो छ।
बिर्तामोड नगरपालिकाका सूचना अधिकारी जय तिम्सिनाले यस्तो गतिविधिबारे अनौपचारिक जानकारी आएको बताए। “८–१० जनाको समूहमा चन्दा माग्ने गरेको सूचना आएको छ, तर औपचारिक छलफल भएको छैन,” उनले भने।
यता, चन्दा सङ्कलनमा संलग्न बताइएकी मेघा किन्नरले नील हिरा समाजको कार्ड आफ्नै भएको स्वीकार गर्दै रकम जबरजस्ती नलिएको दाबी गरिन्। “स्वेच्छाले दिएको लिने हो, हामी दुवा–आशीर्वाद दिने गर्छौं,” उनले भनिन्।
स्थानीयवासीले भने संस्थाको नाम प्रयोग गरेर दबाब सिर्जना गरिएको आरोप लगाएका छन्। यस्ता गतिविधिले तेस्रोलिंगी समुदायको छविमा नकारात्मक असर पार्ने भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे जानकारी आएको जनाउँदै आवश्यक अनुसन्धान गर्ने जनाएको छ। स्थानीयले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।