ई-मधेश न्युज
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १३ बैशाख ।
एभरेष्ट इन्जिनियरिङ कलेज (EEC) को आयोजनामा ‘Civil Engineering Innovations & Sustainable Development (CEISD–2026)’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरस्थित नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेज (NASC), जावलाखेलमा सुरु भएको छ।
सिभिल इन्जिनियरिङ क्षेत्रमा नवप्रवर्तन, दिगो विकास तथा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनले विभिन्न देशका विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीलाई एउटै मञ्चमा ल्याएको छ।
उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज केसी ले दिगो पूर्वाधार, अनुसन्धान–आधारित शिक्षा र नवप्रवर्तनलाई सुदृढ बनाउनु समयको आवश्यकता भएको बताउनुभयो। उहाँले यस्ता सम्मेलनले ज्ञान आदानप्रदान र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गर्नुभयो।
सम्मेलनअन्तर्गत सञ्चालन भइरहेका प्राविधिक सत्रहरूमा अष्ट्रेलिया, जर्मनी, नेपाल, भारत, यूएई र जापानका विशेषज्ञहरूले प्रस्तुतीकरण गरिरहेका छन्। सह–प्राचार्य इन्जिनियर राजन लामा का अनुसार ६ देशबाट ४० भन्दा बढी अनुसन्धान पत्र प्रस्तुत हुनेछन्।
दिउँसो सञ्चालन हुने समानान्तर सत्रहरूमा स्मार्ट तथा दिगो पूर्वाधार, भू–प्राविधिक नवप्रवर्तन, जलविद्युत् तथा जलवायु–मैत्री संरचना र एकीकृत पानी तथा वातावरणीय प्रणालीका विषयमा छलफल हुने जनाइएको छ।
सम्मेलनमा उद्योग–शिक्षा सहकार्यलाई बलियो बनाउन विभिन्न कम्पनीहरूको सहयोग रहेको छ। आयोजकका अनुसार यसले प्राविधिक शिक्षा र उद्योगबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीहरूको सक्रिय उपस्थिति रहेको छ। सम्मेलनको समापन सत्र आज साँझ आयोजना गरिनेछ।