ई-मधेश न्युज
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
ईमधेश न्युज सम्वाददाता,
दुहवी १५ चैत्र ।
सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा भारतीय सहयोगमा निर्माण हुन लागेको फोहोरमैला व्यवस्थापन केन्द्रको आइतबार औपचारिक शिलान्यास गरिएको छ।
भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले संयुक्त रूपमा उक्त केन्द्रको शिलान्यास गरेका हुन्। करिब १६ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो।
उक्त केन्द्र उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ। शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै यस परियोजनाले दुहवी क्षेत्रमा दिगो र वैज्ञानिक फोहोरमैला व्यवस्थापन प्रणाली विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले यसबाट वातावरण संरक्षण, सरसफाइ प्रवद्र्धन तथा जनस्वास्थ्यमा सुधार आउने अपेक्षा व्यक्त गरेका छन्।
भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा नेपाल–भारतबीचको सहकार्य बहुआयामिक रहेको उल्लेख गर्दै यस्ता परियोजनाले नेपालको पूर्वाधार विकास र समृद्धिमा टेवा पु¥याउने जनाएको छ।
स्थानीय बासिन्दाहरूले पनि परियोजनालाई सरसफाइ व्यवस्थापनमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। निर्माण कार्य छिट्टै सुरु भई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।