ई-मधेश न्युज
नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भव्य रूपमा सम्पन्न
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १० चैत्र ।
नेपाल मेडिकल कलेज मा विश्व मुख स्वास्थ्य दिवस का अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा मुख स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित प्यानल छलफलसमेत आयोजना गरिएको थियो।
कार्यक्रम दिउँसो १ बजे डेन्टल ब्लकमा ब्यानर ड्रपसहित सुरु भएको थियो। कार्यक्रममा कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिन प्रमुख अतिथि रहनुभएको थियो। साथै प्रिन्सिपल प्रा. डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा. डा. निलमणी उपाध्याय लगायत उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै डा. यासमिनले मुख तथा दन्त स्वास्थ्य समग्र स्वास्थ्यको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै समुदाय स्तरमै सचेतना विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। अन्य वक्ताहरूले पनि नियमित दन्त परीक्षण, सरसफाइ र जनचेतना अभिवृद्धिमा जोड दिएका थिए।
“ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ” नारासहित आयोजित प्यानल छलफलमा प्राध्यापकहरूले मुख स्वास्थ्य र दैनिक जीवनबीचको सम्बन्धबारे धारणा राखेका थिए। कार्यक्रममा विद्यार्थीहरूले नाटक, नृत्य तथा अन्य प्रस्तुति मार्फत सन्देशमूलक कार्यक्रम प्रस्तुत गरेका थिए।
यसअघि बिहान रील्स तथा पोस्टर प्रदर्शनीको मूल्याङ्कन गरिएको थियो। उत्कृष्ट सहभागीहरूलाई प्रमुख अतिथि डा. यासमिनले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रममा मनोरञ्जनसँगै मुख स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य सफल भएको आयोजकले जनाएको छ।