ई-मधेश न्युज
ईद–उल–फित्रमा उपराष्ट्रपतिको शुभकामनाः सद्भाव र एकताको सन्देश
लिलाकान्त यादव,
काठमाडौं, ०७ चैत्र ।
रामसहाय प्रसाद यादव ले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ‘ईद–उल–फित्र’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ।
शनिबार जारी शुभकामना सन्देशमा उहाँले रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजपछि मनाइने ईद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक रहेको उल्लेख गर्नुभयो। इफ्तार र सामूहिक नमाजले समाजमा एकता, सहअस्तित्व र भाइचाराको भावना बलियो बनाउने उहाँको भनाइ छ।
उपराष्ट्रपति यादवले दान, सहयोग र करुणाको परम्पराले असहाय तथा विपन्नप्रति सहानुभूति अभिवृद्धि गर्ने बताउँदै ईद केवल धार्मिक पर्व मात्र नभई सामाजिक सद्भाव र सांस्कृतिक ऐक्यवद्धताको प्रतीक भएको उल्लेख गर्नुभयो।
“धर्मको मूल उद्देश्य मानवता हो,” सन्देशमा भनिएको छ, “ईद–उल–फित्रले समाजलाई समानता, सहअस्तित्व र सामाजिक न्यायको मार्गमा अघि बढ्न प्रेरित गर्दछ।”
उहाँले यस पर्वले राष्ट्रिय एकता, सहिष्णुता र आपसी सम्मानलाई अझ सुदृढ बनाउँदै शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ।