ई-मधेश न्युज
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०४ चैत्र ।
जेनजि २.० ले कार्की आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनले गृहमन्त्रीलाई पत्र पठाउँदै प्रतिवेदन हालसम्म गोप्य राखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
उक्त आयोग पूर्वन्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा गठन गरिएको थियो। जेनजि २.० का अनुसार आयोगले तयार पारेको प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण दस्तावेज भएकाले समयमै सार्वजनिक हुन आवश्यक छ।
संगठनले आफ्नो पत्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता सुदृढ बनाउन यस्ता प्रतिवेदनहरू सार्वजनिक गरिनु अपरिहार्य हुने उल्लेख गरेको छ। प्रतिवेदन सार्वजनिक नभएमा जनतामा अन्योल, आशंका र अविश्वास बढ्ने खतरा रहने जेनजि २.० को भनाइ छ।
“लोकतान्त्रिक मूल्य–मान्यताअनुसार जनचासोका विषयमा तयार पारिएका प्रतिवेदनहरू समयमै सार्वजनिक गरिनुपर्छ,” पत्रमा उल्लेख गरिएको छ।
जेनजि २.० ले सरकारलाई ढिलाइ नगरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएको छ। संगठनका प्रवक्ता अविन लिम्बू ले प्रतिवेदन सार्वजनिक नभएसम्म नागरिकस्तरबाट दबाब जारी रहने संकेत दिएका छन्।
उनका अनुसार नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्नु लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत पक्ष हो। त्यसैले सरकारले जनविश्वास कायम राख्न प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गर्नु नहुने उनको भनाइ छ।